विराज महर्जन बोले– ‘यस्तो दिन आउँछ भनेर सोचिनँ’
काठमाडौँ — नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता पहिलोपटक सन् २०१६ मा जितेको थियो — एएफसी सोलिडारिटी कप। सो टिमका कप्तान विराज महर्जन थिए । उनी मात्र होइन, उनको महर्जन परिवार नै नेपाली फुटबलप्रति समर्पित परिवारको प्रतीक मानिन्छ ।
तर बिहीबार उनै विराज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सअगाडि विरोध सभामा उभिएका थिए । नेपाल फुटबल खेलाडी संघले आयोजना गरेको सो विरोध कार्यक्रममा उनी भावुक हुँदै बोले,
“यस्तो दिन आउँछ भनेर कहिल्यै सोचेको थिइनँ।”
खेलाडीहरूको माग खासै ठूलो थिएन — सहिद स्मारक ‘ए’ डिभिजन लिग नियमित रूपमा आयोजना गर्नुपर्यो। तर देशकै शीर्ष फुटबल खेलाडीहरूलाई पनि आफ्नो आवाज सुन्ने निकाय नपाएको उनीहरूको पीडा थियो ।
सोही कार्यक्रममा नेपालका लागि सयौँ खेल खेलेका रोहित चन्द, राष्ट्रिय टोलीका शीर्ष गोलकर्ता अञ्जन विष्ट र घरेलु फुटबलका सफल गोलरक्षक विशाल श्रेष्ठ पनि सहभागी थिए । उनीहरू सबैको एउटै स्वर थियो — “फुटबल मैदानमा फर्कन चाहन्छौँ, तर एन्फाले बाटो खोलिदिनुपर्यो।”
त्यो बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख पदाधिकारीहरू राजधानीबाहिर लाखौँ खर्चेर ‘बल वितरण’ कार्यक्रममा व्यस्त थिए । यसैबीच एन्फाको मुख्य ढोका अगाडि खेलाडीहरूले आफ्ना पदक झुण्ड्याउँदै मौन विरोध जनाए ।
स्थिति साम्य पार्ने प्रयास गर्दै एन्फाका प्रवक्ता सुरेश शाहले केही प्रतिक्रिया दिए । तर खेलाडीहरू अब रोकिएनन् । खेलाडी संघका अध्यक्ष विक्रम लामाले स्पष्ट चेतावनी दिए —
“एन्फा नेतृत्वले एक साताभित्र ‘ए’ डिभिजन लिगको पूरा कार्यक्रमसहित आयोजना घोषणा गर्नुपर्छ, नभए खेलाडीकै भाषामा प्रतिवाद हुनेछ।”
नेपाल फुटबल इतिहासकै गौरवमयी अध्यायका साक्षी विराज महर्जनजस्ता खेलाडी सडकमा उत्रन बाध्य भएको यो दृश्यले नेपाली फुटबलको वास्तविक अवस्था पुनः उजागर गरेको छ ।

