काठमाडौँ — नेपाल प्रिमियर लिग २ मा जनकपुर बोल्ट्सले अभिनेता निखिल उप्रेतीलाई ‘गुडविल एम्बासडर’ घोषणा गरेको छ। चन्द्रागिरिबाट प्याराग्लाइडिङ स्टन्ट गर्दै गरिएको यो घोषणा टोलीको नारा ‘बिल्ड फर भिक्ट्री’ लाई नयाँ उचाइँमा पुर्याएको जनकपुरले जनाएको छ।
अभिनेता निखिल उप्रेतीले भने, “जनकपुर बोल्ट्स केवल एउटा टोली होइन, यो जनकपुर र सम्पूर्ण मधेशको गौरव हो। यस टोलीसँग जोडिन पाउनु मेरा लागि सम्मानको विषय हो। विजयको आत्मा हरेक नेपालीभित्र छ र म त्यो आत्मालाई जनकपुर बोल्ट्ससँग मिलेर जगाउन चाहन्छु।”
जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले निखिल उप्रेतीलाई नेपाली युवाका लागि साहस र दृढताको प्रतीक भनेका छन्। उनको देशप्रेम, अनुशासन र सकारात्मक ऊर्जा टोलीको मूल्य र दर्शनसँग मेल खान्छ र यसले केवल खेलमैदानमा नभई समाजमा पनि प्रेरणा दिन्छ।
टोलीले एनपीएलको तयारी तीव्र बनाइरहेको छ। विदेशी खेलाडीमा वायने पार्नेल र श्रीलंकाका अमेरिकी क्रिकेटर लाहिरू मिलान्थालाइ पनि टोलीमा समावेश गरिएको छ।

