काठमाडौँ — सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्रका स्थानीयले मेलम्ची सुरुङबाट काठमाडौं ल्याइँदै आएको पानी खोलामा फर्काएपछि उपत्यकामा पानीको आपूर्ति प्रभावित भएको छ। मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन मन्त्री प्रदीप यादवसँग गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै बिहीबारदेखि पानी खोलामा फर्काए पछि उपत्याकामा हुँदै आएको पानी वितरण प्रभावित भएको हो।
मेलम्चीबाट दैनिक करिब २० करोड लिटर पानी काठमाडौं पठाइँदै आएकोमा मुहानमा रोकावट भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आन्तरिक स्रोतबाट मात्र पानी वितरण गर्नुपर्ने भएको छ। प्रवक्ता प्रकाश राईका अनुसार, मुहान बन्द हुँदा सुन्दरीजल प्रशोधन केन्द्रबाट वितरण सम्भव छैन र दैनिक पानी अभावले नियमित आपूर्ति हुन नसक्ने अवस्था छ।
संघर्ष समितिका अध्यक्ष पासाङ शेर्पा र स्थानीय राजनीतिक अगुवा राजकुमार भण्डारीले सरकार र मेलम्ची आयोजनाले स्थानीय समस्याप्रति बेवास्ता गरेको बताए। २०७८ असारको बाढीले हेलम्बु र मेलम्चीमा ठूलो क्षति पुर्याएको थियो, तर पुनर्निर्माण र पीडितहरूको पुनर्वासमा सरकारले ध्यान नदिएको भण्डारीको गुनासो छ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार, स्थानीयले एक्स्काभेटरको सहयोगमा पानी खोलामा फर्काएका छन्। यसअघि हेलम्बुमा २०७८ सालको बाढीपीडितहरूको पुन:स्थापना, सडक–पुल निर्माण र पानी महसुलको निश्चित प्रतिशत विकासमा लगाउने सहमति भएको थियो, तर कार्यान्वयन नभएको आरोप स्थानीयले लगाएका छन्।
स्थानीय चार सरोकार समितिले मेलम्ची आयोजनाको मुख्य कार्यालयमा कार्यकारी निर्देशकको कार्यकक्षमा ६ दिनदेखि ताला लगाएको छ। आज दिउँसो सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा सरोकार समितिसँग वार्ता गर्ने तयारी छ।

