काठमाण्डौ — भारतको बिहार राज्यमा आज विधानसभा निर्वाचनको दोस्रो तथा अन्तिम चरणको मतदान सुरु भएको छ।
पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ निर्वाचन क्षेत्रमा मतदान भइरहेको हो।
यस चरणमा एक हजार ३०२ उम्मेदवार प्रतिस्पर्धामा छन्। बिहार विधानसभाको यो अन्तिम चरणको मतदानले राज्यको आगामी राजनीतिक शक्ति–सन्तुलन र सरकार गठनको दिशा निर्धारण गर्ने मानिएको छ।
नेपालसँग जोडिएका सीमाक्षेत्रमा सुरक्षाको कारणले मोरङ र सुनसरीका सीमा नाका शनिबार बेलुकादेखि नै अस्थायी रूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, मोरङले जनाएको छ। मतदान सकिएपछि आजै साँझदेखि सीमा पुनः खोलिने बताइएको छ।
बिहारमा यस पटक तीन करोड ७० लाखभन्दा बढी मतदाता मध्ये एक करोड ७४ लाख महिला मतदाता रहेका छन्। मतदानका लागि कुल ४५ हजार ३९९ मतदान केन्द्र तोकिएको छ।
यसअघि नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान सम्पन्न भएको थियो, जसमा ६५.०८ प्रतिशत मतदाताले मतदान गरेका थिए।

