काठमाण्डौ — जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न रहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि साङ्घातिक आक्रमण गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिसीटिभी फुटेज, भिडियो र तस्बिरको विश्लेषणपछि अभियुक्तहरूको पहिचान गरी पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा विर्तामोड–५ का नवराज राई (४५), राजन चौधरी (२२) र आयूष धिमाल (२०), कनकाई–१ का गोपाल सङ्ग्रौला (४२), कनकाई–३ का विष्णु विक (२५), शिवसताक्षी–१० का कुशल तिम्सिना (२५) र सञ्जय बस्नेत (३१), विर्तामोड–५ की पूजा मगर (२४), अर्जुनधारा–७ का सुरज राई (२८), दमक–३ का रियाज सिलवाल (१९), इलाम चुलाचुली–३ का नकुल अधिकारी (२२), पाँचथर मिक्लाजुङ–५ घर भई हाल दमक–१ बस्ने साजन ल्हागुन (२२) रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। यसका लागि झापा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता खड्काले जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि झापाबाट ९९ थान हतियार लुटिएका थिए। तीमध्ये ७७ थान फिर्ता भइसकेका छन् भने २२ थान हतियार अझै फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

