काठमाडौं – दुई दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान साढे ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठक पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा आइतबार र सोमबार स्थगित गरिएको थियो।
असोज २८ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल जारी छ। करिब एक महिनादेखि जारी बैठकमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विवाद पेचिलो बन्दै गएको छ।
पार्टीभित्रको संस्थापन पक्षले महाधिवेशन नगर्ने योजना बनाएको छ भने अर्को पक्षले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन अनिवार्य हुनुपर्ने अडान राखेको छ। बैठकमा कांग्रेसका दुई पक्षले छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका पनि प्रस्तुत गरिसकेका छन्।

