प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा सार्वजनिक, सुझाव दिन एक साताको समय
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिताको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ। आयोगले तयार पारेको यो मस्यौदामा विभिन्न राजनीतिक दल, सरकारी–गैरसरकारी संस्था तथा आम नागरिकबाट एक साताभित्र सुझाव माग्ने घोषणा गरेको छ।
आयोगका अनुसार सुरक्षित, स्वतन्त्र, निष्पक्ष र पारदर्शी वातावरणमा निर्वाचन सम्पन्न गर्न आचारसंहिता आवश्यक मार्गदर्शक दस्तावेज हो। सोही उद्देश्यले आयोगले हालको राजनीतिक अवस्था, अघिल्ला निर्वाचनमा देखिएका चुनौती र सम्भावित जोखिमका आधारमा नयाँ बुँदागत रूपरेखा तयार पारेको बताएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा शुक्रबारदेखि आयोगको ‘वेबसाइट’मा उपलब्ध मस्यौदालाई मंसिर ७ गतेभित्र समीक्षा गरी सुझाव–सिफारिस पठाउन आग्रह गरिएको छ। सुझावहरू राजनीतिक दल, नीति निर्मातादेखि लिएर नागरिक समाज र सर्वसाधारणसम्मका सबै सरोकारवालाका लागि खुला रहनेछ।
मस्यौदामा निर्वाचन प्रचारप्रसारका सीमा, सार्वजनिक संसाधनको प्रयोगमा निगरानी, सरकारी कर्मचारीको आचारसंहिता, सामाजिक सञ्जालमार्फत हुने प्रचारको दायरा, खर्च व्यवस्थापन र पारदर्शिता, मतदाताको स्वतन्त्रतालाई क्षति पुर्याउने गतिविधिमाथि कडाइ
जस्ता बुँदा समावेश गरिएका छन्।
आयोगले विशेषगरी अनावश्यक खर्च, मत प्रभावित पार्ने गतिविधि, दुरुपयोग हुने सरकारी स्रोत–साधन र भय–धम्कीको वातावरण न्यूनिकरणमा मस्यौदाले जोड दिएको बताएको छ।
निर्वाचन तयारी तीव्र बन्दै गएको बेला आयोगको यस कदमलाई नियमित प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। सुझाव सङ्कलनपछि मस्यौदा परिमार्जन गरी अन्तिम निर्वाचन आचारसंहिता छिट्टै सार्वजनिक गरिने आयोगले जनाएको छ।

