काठमाडौं: पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङमा बाढीले लघु जलविद्युत् परियोजनाको पावरहाउस (विद्युतगृह) बगाएको छ ।
हिजाेराति परेको ठूलाे वर्षासँगै दरखोलामा आएको बाढीले लघु जविद्युतको पावरहाउस बगाएको हो ।
वर्षासँगै खोला उर्लिएर आएको बाढीले ४५ किलोवाट क्षमताको दोस्रो दरखोला लघु जलविद्युत् परियोजनाको विद्युत् गृह, बाँध र नहर बगाएको बताइएको छ।
बाढीले खबाङको दोभानमा रहेको बाँध, पाइपलाइन, मरेनीको फेदी र दरखोलाको किनारमा रहेकाे पावरहाउसमा क्षति पुर्याएको धवलागिरि गाउँपालिकाले जनाएको छ ।
यसअघि २०७२ सालमा पनि जुगेपानीमा आएको पहिरोले विद्युत् गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना सारिएको थियो भने पछि २०७६ सालमा एक करोड ५० लाख बढीको लागतमा परियोजना बनाइएको थियो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ८५ लाख र धवलागिरि गाउँपालिकाले ५० लाख रुपैयाँको लगानीमा जलविद्युत् परियोजना निर्माण गरिएको थियो ।
स्थानीय उपभोक्ताले झण्डै २० लाख रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।
बाढीले जलविद्युत् परियोजना बगाएपछि लुलाङका ३ सय ७८ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।
