काठमाडौँ। राहदानी विभागले दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ। विभागका अनुसार आवश्यक परेका सेवाग्राहीलाई तत्कालै राहदानी उपलब्ध गराइनेछ।
विभागमा कुल तीन लाख ९६ हजार थान राहदानी छपाइ भई आपूर्ति भइसकेको छ। यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय गरिएको थियो।
राहदानी पुस्तिकाको पर्याप्त आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी सेवा सञ्चालन थालेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका सेवाग्राहीलाई राहदानी वैयक्तिकरण गरी वितरण गरिनेछ।
विभागका अनुसार गत मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीले पुस १५ गतेसम्म नयाँ राहदानी प्राप्त गरेका छन् । त्यसपछि आवेदन दिनेहरूलाई क्रमशः राहदानी उपलब्ध गराइनेछ।
अन्तरिम अवधिका लागि उपलब्ध राहदानी पुस्तिकाका कारण अब राहदानी वितरण प्रक्रिया सहज हुने विभागले स्पष्ट पारेको छ।

