काठमाडौं । टी–२० विश्वकपअन्तर्गत मंगलबार भएका खेलहरूमा पाकिस्तान र न्युजिल्यान्डले लगातार दोस्रो जित हात पार्दै सुपर एट चरणमा प्रवेशको सम्भावना थप बलियो बनाएका छन्। त्यस्तै नेदरल्यान्ड्सले पनि महत्त्वपूर्ण जित निकाल्दै प्रतियोगितामा आफूलाई पुनः प्रतिस्पर्धी बनाएको छ।
पाकिस्तानको प्रभावशाली जित, अमेरिकासँगको हारको बदला
कोलम्बोमा भएको समूह ‘ए’ को खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। यससँगै पाकिस्तानले सन् २०२४ को विश्वकपमा सुपर ओभरमार्फत अमेरिकासँग बेहोरेको हारको बदला पनि लिएको छ।
१९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि एन्ड्र्युस गस र शाइन जहाँगिरले ४२ रनको सुरुआती साझेदारी गर्दै राम्रो सुरुआत दिलाए पनि टोलीले त्यसलाई ठूलो स्कोरमा रूपान्तरण गर्न सकेन। जहाँगिरले ३४ बलमा ४९ रन बनाए भने अन्तिम चरणमा शुभम कृष्णमूर्तिले ५१ रनको अर्धशतक पूरा गरे।
पाकिस्तानका लागि उस्मान तरिकले ३ विकेट लिए भने सादब खानले २ विकेट गरे।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाउँदै १९० रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। साहेबजादा फरहानले ४१ बलमा ७३ रन बनाउँदै टोलीको स्कोर उकासे भने बाबर आजमले ४६ रनको योगदान दिए। फरहानले ६ चौका र ५ छक्का प्रहार गरे। अन्तिमतिर सादब खानले ३० रन थपे। अमेरिकाका स्याड्ली भानले २५ रन खर्चेर ४ विकेट लिए।
न्युजिल्यान्डको शानदार जित, यूएईमाथि १० विकेटको दबदबा
समूह ‘डी’ अन्तर्गत चेन्नईमा भएको खेलमा न्युजिल्यान्डले यूएईलाई १० विकेटले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सुरुआती दुई खेलबाट लगातार ४ अंक जोड्दै न्युजिल्यान्ड सुपर एटको बलियो दाबेदार बनेको छ।
१७४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले कुनै विकेट नगुमाई मात्र १५.२ ओभरमा लक्ष्य पूरा गर्यो। टिम सेफर्टले ८९ र फिन एलेनले ८४ रन बनाउँदै अविजित साझेदारी गरे। सेफर्टले ४२ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दा एलेनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे।
यसअघि यूएईले ६ विकेट गुमाएर १७३ रन बनाएको थियो। एलिसन सरफुले ५५ रन बनाए भने मोहम्मद वासिम ६६ रनमा अविजित रहे। यी दुईले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए।
नेदरल्यान्ड्सको पुनरागमन, नामिबियामाथि सहज जित
दिनको पहिलो खेलमा नेदरल्यान्ड्सले बास डे लिडको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नामिबियालाई ७ विकेटले हरायो। १५७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८ ओभरमा ३ विकेट गुमाएर १५९ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
डे लिडले अविजित ७२ रन बनाउँदै जितको आधार तयार गरे। कोलिन अकरमनले ३२ र माइकल लेभिटले २८ रन जोडे। यस जितसँगै नेदरल्यान्ड्सले २ खेलबाट २ अंक जोड्दै सुपर एटको प्रतिस्पर्धामा आफूलाई पुनः स्थापित गरेको छ।
नामिबियाले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर १५६ रन बनाएको थियो। जान फ्रायलिन्कले ३० र जान निकोलले ४२ रन बनाए। अन्य खेलाडीहरूले उल्लेखनीय योगदान दिन सकेनन्। नेदरल्यान्ड्सका लोगान भान विक र डे लिडले समान २–२ विकेट लिए।
आज तीन खेल, को-कोबीच हुँदैछ रोचक भिडन्त !
प्रतियोगिताअन्तर्गत आज तीन महत्वपूर्ण खेल हुनेछन्। बिहान सवा ११ बजे दक्षिण अफ्रिका र अफगानिस्तान भिड्नेछन्। त्यसपछि सवा ३ बजे आयरल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। दिनको अन्तिम खेलमा राति सवा ७ बजे इङ्ल्याण्ड र वेस्टइन्डिज आमनेसामने हुने तालिका छ।

