काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गर्दै नेपालमा वैदेशिक लगानीका सम्भावना र वातावरणबारे विस्तृत छलफल गरेको छ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र गभर्नर पौडेलबीच भएको भेटमा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी संरचना, बैंकिङ प्रणाली तथा लगानी सहजीकरणका उपायहरूबारे विचारविमर्श भएको थियो।
भेटवार्तामा नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी थिए।
भेटका अवसरमा कतारी प्रतिनिधिमण्डलले नेपालमा स्थिर नीतिगत वातावरण, स्पष्ट कानुनी संरचना र सहज बैंकिङ प्रक्रिया सुनिश्चित भए कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि सकारात्मक रहेको धारणा व्यक्त गरे।
गभर्नर पौडेलले नेपाल सरकारले वैदेशिक लगानीलाई प्राथमिकतामा राख्दै आवश्यक नीतिगत सुधार निरन्तर अघि बढाइरहेको जानकारी दिँदै लगानीमैत्री वातावरण निर्माणका प्रयासहरूबारे प्रतिनिधिमण्डललाई अवगत गराएका थिए।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य अलोबैदेलीले कतारी निजी क्षेत्रको नेपालप्रति बढ्दो लगानी रुचि रहेको उल्लेख गर्दै बैंकिङ, पर्यटन, सूचना प्रविधि तथा जनशक्ति विकासलगायत विविध क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताए। स्पष्ट लगानी मार्गचित्र तयार भए नेपालमा कतारी लगानी विस्तार गर्न सकिने उनको भनाइ थियो।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी सहजीकरणका लागि महासङ्घ सक्रिय रूपमा काम गरिरहेको उल्लेख गर्दै कतारी लगानी भित्र्याउने ठोस अवसर रहेको बताए। निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद र संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया थप सहज बनाउनेतर्फ महासङ्घ प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

