काठमाडौं । पूर्वमन्त्री तथा राजनीतिज्ञ जितेन्द्रनारायण देव औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
राजविराजस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनीसहित करिब एक दर्जन नेता–कार्यकर्ता कांग्रेसमा आबद्ध भएका हुन्।
कार्यक्रममा जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल तथा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले फूलमाला र अबिर लगाएर देवलाई स्वागत गरेका थिए।
पार्टी प्रवेशपछि देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनबाट पारित नवीन नीतिहरू आत्मसात् गर्ने बताएका छन्।
विद्यार्थीकालदेखि सक्रिय राजनीतिक यात्रा सुरु गरेका देव यसअघि नेकपा एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेर राजनीति गरेका थिए। उनी पहिले कांग्रेसबाटै राष्ट्रियसभा सदस्यसमेत बनेका थिए।

