काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महेश बस्नेतले अन्तिम परिणामलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यसपटकको परिणाम आफूहरूको अनुकूल हुन नसके पनि लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने विश्वासका साथ त्यसलाई स्वीकार गरेको बताएका छन्।
उनले उक्त क्षेत्रबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजिब खत्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
साथै सूर्य चिन्हमा मतदान गरी आफूलाई विश्वास गर्ने सम्पूर्ण मतदाता तथा चुनावी अभियानमा खटिएका पार्टीका नेता–कार्यकर्ताप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।
उनले राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा गर्ने प्रतिबद्धतामा भने कहिल्यै नहार्ने बताएका छन्। अब आफूहरूको भूमिका रचनात्मक प्रतिपक्षका रूपमा रहने र शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन तथा समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने बताएका छन्।
नेकपा एमालेका सचिव समेत रहेका उनले जनताको विश्वास, माया र साथलाई आफ्नो सबैभन्दा ठूलो शक्ति भन्दै बाँकी जीवन पनि जनताको सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

