गण्डकी। पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा सञ्चालित स्पा सेन्टरहरूमा बालिकालाई काममा लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले आठ जना सञ्चालकलाई आइतबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४७ वर्षीय होमबहादुर बुढाथोकी, २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर र पोखरा-१७ का २८ वर्षीय सरोज सुनार रहेका छन्।
प्रहरीका अनुसार मापदण्ड विपरीत स्पा सञ्चालन, बालिकालाई कामदारका रूपमा प्रयोग गर्ने तथा स्पाभित्र अवाञ्छित गतिविधि गराउने आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले स्पा सेन्टरबाट उद्धार गरिएका बालिकाहरूलाई परिवार तथा आफन्तको जिम्मा लगाइएको जानकारी दिए।
पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

