विराटनगर महानगरपालिकामा कोरोना भाइरस विरुद्धको अमेरिका खोप जोन्सन एण्ड जोन्सन लगाउन सुरु गरिएको छ। महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखाका अनुसार मंगलबारदेखि दुई दिन महानगरपालिकाको १९ मध्ये १७ वटा वार्डमा खोप लगाउने कार्य सुरु भएको हो।
महाशाखा प्रमुख रमेश कार्कीले ५० देखि ५४ वर्ष उमेरका नागरिक, छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, तथा सरसफाईकर्मी, चिकित्साक्षेत्रमा अध्ययनरत विद्यार्थी, अपाङ्गता भएका व्यक्ति लगायतलाई खोप लगाइने जानकारी दिए।
महानगरपालिकाको वडा १ र ३ ले भने बिहीबार र शुक्रबार खोप लगाउने जनाएका छन्। १ नम्बर वडाका अध्यक्ष उद्धव अर्यालले खोप लगाउने कार्यक्रम सर्वसाधारणको सहजताका लागि केहीदिन पर सारिएको बताए।
महानगरपालिकाले दुई दिनसम्म १२ हजार २ सय ९० डोज खोप लगाउने खोप संयोजक अमरदीप देवले जानकारी दिए। विराटनगर महानगरपालिकामा १२ हजार ३५ जनाले भारतबाट उपलब्ध कोभिशिल्ड खोपको पहिलो डोज लगाएको थिए।

