काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीच मनमुटाव बढेको छ । दुईबीच बढेको मनमुटावले टेस्लाको सेयरमा समेत असर पारेको छ।
एलन मस्क मालिक रहेको टेस्लाको सेयरमा बिहीबार ठूलो गिरावट आएको छ।
बिहीबार कम्पनीको सेयर १४ प्रतिशत घटेको हो, जसले गर्दा कम्पनीको मूल्यमा लगभग १५० अर्ब डलर घाटा भएको छ।
विज्ञहरूका अनुसार, टेस्लाका लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन हो बिहिबार। यो घाटा ट्रम्पसँग द्वन्द्व बढ्यो भने मस्कले धेरै पीडा भोग्नुपर्ने संकेत हो।
मस्कले अमेरिकाको सरकारी दक्षता विभाग (डज) छाडेयता राष्ट्रपति ट्रम्पको आलोचना गरिरहेका छन्। पहिले एकअर्काका प्रिय उनीहरू अहिले आरोप-प्रत्यारोपमा नै उत्रिएका छन्।
एलन मस्कसँग वैमनस्यता बढ्दै जाँदा ट्रम्पले स्पेसएक्सजस्ता मस्कका कम्पनीहरूलाई दिइएका सरकारी ठेक्का पनि समाप्त गर्ने चेतावनी दिएका छन्।
तर जवाफमा मस्कले भनेका छन्, ‘तपाईं जे गर्न चाहनुहुन्छ गर्नुहोस्, मलाई मतलब छैन।’

