काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ। बिहीबार काठमाडौंमा दुई पार्टीका अध्यक्षहरूले यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
जसपाका अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
यो कार्यगत एकतालाई दुई पार्टीले ‘एकता उन्मुख कार्यगत एकता’ भनी व्याख्या गरेका छन्। छिट्टै दुई पार्टीबीच एकता हुने सम्भावना रहेको छ ।
यस कार्यगत एकताले दुवै पार्टीलाई अन्य दलहरूसँग छुट्टै सहकार्य, मोर्चा निर्माण वा एकता गर्नबाट रोक्ने छैन। यद्यपि, दुई दलले केन्द्रीय र प्रदेश संयोजन समितिले जारी गरेका निर्देशनहरू तथा निर्णयहरू भने पालना गर्नुपर्नेछ।
यस सम्झौताअनुसार, संयुक्त कार्यक्रमको अध्यक्षता गर्ने दलले सञ्चारमाध्यमहरूको समन्वय र निर्णयहरूको जानकारी दिनेछ। साथै, संयुक्त सार्वजनिक कार्यक्रमहरूमा दुई दलबीचको कार्यगत एकताको उद्देश्य र नीतिअनुसार मात्रै मन्तव्य दिनुपर्ने सहमति पनि भएको छ।

