देउखुरी । दाङ जिल्लाको पछिल्ला तीन वर्षका तथ्यांकले शान्ति–सुरक्षाको अवस्था क्रमशः सुधारिँदै गएको देखाए पनि आत्महत्या र लागूऔषधसम्बन्धी अपराध अझै पनि गम्भीर चुनौतीका रूपमा देखिएका छन्।
जिल्ला प्रहरी कार्यालयका तथ्यांक अनुसार आत्महत्याका घटनामा निरन्तर वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा १९९, २०८१/८२ मा २२० र चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकसम्म ५५ वटा आत्महत्याका घटना दर्ता भएका छन्।
प्रहरी निरीक्षक कविराज रोकाका अनुसार सबैभन्दा बढी घटना झुण्डिएर आत्महत्या गर्नेका रहेका छन्। गत आर्थिक वर्षमा १७५ जना झुण्डिएर, ४२ जना विष सेवन गरेर, एकजना हामफालेर र दुईजनाले औजार प्रयोग गरी आत्महत्या गरेका थिए। चालु वर्षको पहिलो त्रैमासिकमा मात्रै ४६ जनाले झुण्डिएर र नौजनाले विष सेवन गरेर आत्महत्या गरेका छन्।
मनोसामाजिक परामर्शकर्ता सुशीला आचार्यका अनुसार आत्महत्याका मुख्य कारण सामाजिक, आर्थिक, पारिवारिक र मानसिक समस्या हुन्। उनले भनिन्, “हाम्रो समाजमा मानसिक स्वास्थ्यलाई अझै कमजोरीको रूपमा लिइन्छ, जसले गर्दा पीडितले आफ्नो समस्या बोल्न सक्दैन।”
उनका अनुसार उपचार र परामर्शको पहुँच सीमित भएकोले धेरैजसो मानिस समस्यामा परे पनि सहायताका लागि अघि आउँदैनन्। यही मौनताले आत्मघाती कदम चाल्ने अवस्था सिर्जना गर्छ।
विशेषज्ञहरूका अनुसार बेरोजगारी, ऋणको बोझ, आर्थिक असुरक्षा र पारिवारिक असमझदारीले पनि मानसिक तनाव बढाइरहेका छन्। युवा वर्गमा रोजगारको अभावले निराशा बढाएको छ भने सम्बन्धविच्छेद, वैवाहिक कलह र प्रेममा असफलताले आत्महत्या रोज्ने अवस्था निम्त्याइरहेको छ।
सामाजिक संरचना कमजोर बन्दै जाँदा मानिसबीचको भावनात्मक सहारा हराउँदै गएको र संवाद अभावले समस्या थप गहिरिँदै गएको विश्लेषण गरिएको छ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले आत्महत्या नियन्त्रणका लागि सामाजिक परिचालन र जनचेतना अभिवृद्धि कार्यक्रमलाई बस्ती तहसम्म विस्तार गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार जनप्रतिनिधि र सामाजिक कार्यकर्ताले अभियानको रूपमा मानसिक स्वास्थ्य सचेतना फैलाउनुपर्ने समय आएको छ।
विशेषज्ञहरूले विद्यालयदेखि समुदायसम्म मानसिक स्वास्थ्यबारे शिक्षा, परामर्श र पहुँच विस्तार गरेर मात्र आत्महत्या न्यूनीकरण सम्भव हुनेमा जोड दिएका छन्।