काठमाडौं । वाम दलहरूबीच एकता प्रक्रियालाई अघि बढाउने तयारी स्वरूप माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरूको संयुक्त बैठक कात्तिक २० गते बस्ने भएको छ।
माओवादी केन्द्रको आइतबार बसेको सचिवालय बैठकले एकताका लागि तयार दलहरूको बैठक २० गते बोलाउने निर्णय गरेको हो। त्यसअघि कात्तिक १८ गते माओवादीको केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए।
यसअघि शनिबारको सचिवालय बैठकले एकीकृत समाजवादीसहितका वामपन्थी दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो। तर, माओवादी उपमहासचिव जनार्दन शर्मा भने उक्त प्रक्रियाको विपक्षमा रहेका छन्। शनिबारको बैठक बीचमै छाडेर हिँडेका उनी आइतबारको बैठकमा उपस्थित भएनन्।
उता, एकीकृत समाजवादीले पनि हालै सम्पन्न केन्द्रीय समिति बैठकमार्फत माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो। तर, उक्त निर्णयपछि पार्टीमै विभाजन देखिएको छ।
अध्यक्ष माधवकुमार नेपालसहितको बहुमत पक्ष एकताका पक्षमा उभिँदा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललगायत नेताहरू भने असहमत हुँदै पार्टी पुनर्गठनमा लागेको जनाइएको छ।

