झापा — शिवसताक्षीस्थित दूधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकप–२०८१ को उपाधि नेपाल पुलिस क्लब ले हात पारेको छ। फाइनलमा प्रतिस्पर्धी विभागीय टोली एपिएफ फुटबल क्लब लाई १–० गोलले पराजित गर्दै पुलिस क्लबले उपाधि कब्जा गरेको हो।
उपाधिसँगै पुलिस क्लबले नगद रु १० लाख १० हजार, मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजेता एपिएफ फुटबल क्लबले नगद रु पाँच लाख प्राप्त गरेको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि पनि पुलिस क्लबकी मीना देउवा ले हात पारेकी छन्। उनले प्रतियोगिता अवधिभर सात गोल गर्दै टप स्कोरर बनेकी हुन्। देउवाले सर्वोत्कृष्ट खेलाडीको रूपमा रु १ लाख ५० हजार र टप स्कोररको रूपमा रु २५ हजार नगद पुरस्कार प्राप्त गरिन्।
त्यसैगरी, प्लेयर अफ द म्याच — पूजा राना (नेपाल पुलिस क्लब), उत्कृष्ट गोलकिपर — उषा नाथ (नेपाल पुलिस क्लब), उत्कृष्ट डिफेन्डर — मनमाया दमाई (एपिएफ क्लब), उत्कृष्ट मिडफिल्डर — रेनुका नगरकोटी (एपिएफ क्लब), उत्कृष्ट फरवार्ड — अनिता बस्नेत (एपिएफ क्लब), उत्कृष्ट प्रशिक्षक — भोला सिलवाल (नेपाल पुलिस क्लब), उदीयमान खेलाडी — जेनिफर राना मगर (त्रिभुवन आर्मी क्लब) बनेका छन्।
उक्त्कृष्ट विजेताहरूले जनही रु २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
विजेता तथा उपविजेता टोलीलाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, तथा अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए।

