काठमाडौँ — नेपाल सरकारले प्रहरी नायव महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले बैठकपछि जानकारी दिँदै भने, “मन्त्रिपरिषद्को निर्णय अनुसार एआईजी दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरिएको छ।”
वर्तमान प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ सेवा अवधिको ३० वर्षे सीमा पूरा गरी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै छन्। त्यसअघि नै सरकारले नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।
गुल्मी जिल्लाका स्थायी बासिन्दा कार्की हालसम्म काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखका रूपमा कार्यरत थिए। उनको नेतृत्वमा २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा उपत्यकाको सुरक्षा व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन भएको थियो।
प्रहरी सेवामा इमानदार, अनुशासित र परिणाममुखी अधिकारीका रूपमा परिचित कार्कीले आफ्नो करिअर प्रहरी निरीक्षकबाट सुरु गरेका थिए। उनले संस्थाभित्र मानव स्रोत व्यवस्थापन, पारदर्शिता र समुदायमैत्री पोलिसिङको अभ्यासलाई प्राथमिकता दिँदै आएका छन्।

