काठमाण्डौ —अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ। आयोगले उनीहरूलाई गैरकानुनी लाभ लिई राज्यलाई हानी पुर्याएको आरोप लगाएको छ।
आयोगका अनुसार आव २०७९/८० मा वडा नं. २ अन्तर्गत सडक मर्मतका लागि बोलपत्र सूचना राष्ट्रिय स्तर वा स्थानीय समाचारपत्रमा प्रकाशित गर्नुपर्नेमा प्रकाशन नगरी झुठा बिल बनाइ भुक्तानी गरिएको हो।
प्रतिवादीमा तत्कालीन प्रशासकीय अधिकृत मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र जनप्रतिविम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक सञ्जयकुमार साह रहेका छन्।
सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असुल गर्न माग गर्दै आरोपपत्र दायर गरिएको हो।

