रड प्रहार गरि लुटपाट, संलग्न तीन युवा पक्राउ
महोत्तरी । महोत्तरीमा मोटरसाइकल तथा मोबाइल लुटपाटमा संलग्न तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गौशाला नगरपालिका–१२ प्रडिया क्षेत्रमा भएको लुटपाट घटनामा संलग्न उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा गौशाला नगरपालिका–१२ निवासी १८ वर्षीय निर्मल साह सोनार, १८ वर्षीय नितेश कुमार कुशवाहा र १८ वर्षीय मनिष राम रहेका छन्।
प्रहरीका अनुसार बुधबार राति करिब ८ः३० बजे गौशाला–१२ का स्थायी बासिन्दा विषेश्वर सिंह कुशवाहा ज ५ प ४३२४ नम्बरको डिस्कोभर मोटरसाइकलमा घर फर्किँदै गर्दा सुनसान स्थानमा ती युवाहरूले बाटो छेकी मोटरसाइकल रोकेका थिए। त्यसपछि पछाडिबाट फलामको रड प्रहार गरी कुशवाहालाई गम्भीर घाइते बनाइएको थियो। अचानक भएको आक्रमणका कारण उनी सडकमा बेहोस भएर ढलेका थिए।
आक्रमणपछि लुटेराहरूले कुशवाहाको मोटरसाइकल र एक थान मोबाइल फोन लुटेर फरार भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी कान्तिबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो। खोजतलासका क्रममा गौशाला नगरपालिका–१२ र सर्लाही जिल्लाको सिमानामा पर्ने जंगल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिनुभयो।
पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते कुशवाहाको उपचार जारी छ।
घटनापछि गौशाला क्षेत्रमा रात्रीकालीन सुरक्षाप्रति चिन्ता बढेको भन्दै स्थानीयवासीले प्रहरी गस्ती अझ प्रभावकारी बनाउन माग गरेका छन्।

