काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख सहित १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक व्यक्तिलाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याइएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ घर भई हाल फिलिपिन्स बस्दै आएका ३४ वर्षीय प्रकाश पाठक रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पाठकलाई फिलिपिन्सबाट आजै नेपाल ल्याएर काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।
पाठकले आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप’ वा ‘नेपाल इजिएन’को अध्यक्ष बताउँदै आफ्नै इमेलमार्फत अख्तियारका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए। उक्त घटना सन् २०२५ अक्टोबर २२ मा भएको बताइएको छ। त्यसपछि प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो।
प्रहरीका अनुसार पाठकविरुद्ध सार्वजनिक अपराध, ठगी, आपराधिक लाभ लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुनेलगायत विभिन्न कसूरमा ६ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
इन्टरपोलमार्फत समन्वय गर्दै फिलिपिन्सस्थित सम्बन्धित निकायको सहयोगमा उनलाई नियन्त्रणमा लिएर नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ।

