कास्की । मोफसलकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले विजयी सुरुआत गरेको छ। पोखरा रंगशालामा बुधबार भएको खेलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा जावलाखेल हावी बन्यो। खेलको ५४औँ मिनेटमा विदेशी खेलाडी निकोलस हेमिलटनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ६४औँ मिनेटमा बौबुकार सिसोखोले दोस्रो गोल थप्दै जित सुनिश्चित गरे।
मछिन्द्रले खेलमा फर्कने प्रयास गरे पनि जावलाखेलको सशक्त रक्षापंक्तिले त्यसलाई सफल हुन दिएन। उत्कृष्ट प्रदर्शन गरेका निकोलस ‘प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
सहारा क्लब पोखराको आयोजनामा फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ९ र विदेशका ३ गरी १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
यस वर्ष पुरस्कार राशि बढाइएको आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटरसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, अनुशासित टोली र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ।

