काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण भएर आएको कांग्रेस देश रूपान्तरणको स्पष्ट आधारसहित अघि बढेको बताएका छन्।
नेपाल विद्यार्थी संघ (नेविसङ्घ) गोरखा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको पार्टी सदस्य तथा शुभेच्छुक भेटघाट कार्यक्रममा उनले बदलिएको कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै देश बदल्ने बताए।
“विशेष महाधिवेशनले कांग्रेस नयाँ बनेको होइन, रूपान्तरित भएर आएको हो। अब रूपान्तरित कांग्रेसले देशको रूपान्तरण गर्नेछ। रूपान्तरणको अर्थ हाम्रा नीति, सिद्धान्त र व्यवहारले पुष्टि गर्ने हो,” महामन्त्री पौडेलले भने।
उनले एक व्यक्ति दुई पटकसम्म मात्रै प्रधानमन्त्री हुने व्यवस्था, सांसद् र मन्त्रीको समयरेखा निर्धारण तथा निर्वाचनअघि गठबन्धन नगर्ने जस्ता नीति अघि सारिएको उल्लेख गरे। यसबाट मतदाताले आफ्नो आस्थाको पार्टी र चुनाव चिह्नमा मत हाल्ने वातावरण बनेको उनको भनाइ थियो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भ्रष्टाचार अन्त्य र सुशासन मुख्य माग रहेको उल्लेख गर्दै उनले ती माग सम्बोधन गर्ने दाबी गरे। आर्थिक कारोबारलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै उनले कांग्रेसको प्रतिबद्धतापत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन, स्वदेशमै रोजगारी सिर्जना र डिजिटल मुलुक निर्माणलाई उच्च प्राथमिकता दिइने बताए।
कार्यक्रममा गोरखा क्षेत्र नं. २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले गोरखाको विकास र मुलुकको समृद्धिका लागि कांग्रेसको जीत आवश्यक रहेको बताए। आफू १५ वर्षदेखि निरन्तर समाजसेवामा सक्रिय रहेको उल्लेख गर्दै उनले समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाएर जनताको सेवा गर्ने प्रतिबद्धता जनाए।

