कास्की । आयोजक सहारा क्लब पोखरा जारी आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनलमा सहाराले छ पटकको च्याम्पियन मनाङ मस्र्याङदी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको हो।
नियमित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। पेनाल्टी सुटआउटमा पाँच–पाँच गोल भएपछि खेल सडन डेथमा पुगेको थियो। मनाङका कप्तान सविन श्रेष्ठको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहारा नौ वर्षपछि फाइनल पुग्न सफल भयो।
ट्राइब्रेकरमा सहाराका कप्तान सुशील लामा, विक्की चामलिङ राई, आशिष गुरुङ, मुकुन्दकुमार न्यूरे, शिसश थापा, विनय तामाङ र प्रशन्न श्रेष्ठले गोल गरेका थिए। मनाङका अशिष श्रेष्ठ, गिदोन नोआ क्यारेमेह, रोनिश राजवक, दीपेश गुरुङ, ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गरे।
सहारा अन्तिम पटक विसं २०७३ मा फाइनल पुगेको थियो, जहाँ मनाङसँग पराजित भएको थियो। त्यसपछि पहिलो पटक टोली उपाधि नजिक पुगेको हो।
अब दोस्रो सेमिफाइनलमा बिहीबार जावलाखेल युथ क्लब र उज्वेकिस्तानको आभा फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ।
माघ २७ देखि सुरु भएको प्रतियोगिताको फाइनल फागुन ९ गते हुनेछ। विजेताले रु १४ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ७ लाख १ हजारसहित ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ।
सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर र अन्य पाँच विधाका उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार र ट्रफी प्रदान गरिनेछ।

