काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहनेछ भने हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी क्षेत्रमा आंशिक बदली रहने विभागको पूर्वानुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानसहित अन्य पहाडी–हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि तराईका केही स्थानमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशलगायत हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेस प्रदेश तथा बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
तराईका केही स्थानमा हुस्सु तथा उच्च पहाडी–हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले यातायात सञ्चालन, कृषिकर्म तथा दैनिक गतिविधिमा सावधानी अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई विभागले अनुरोध गरेको छ।

