काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु गरिएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रका मतगणना स्थल तय गरिएका छन्।
काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सहकारी विभाग नयाँबानेश्वरमा हुने भएको छ। त्यसैगरी क्षेत्र नम्बर २ को मतगणना कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा गरिनेछ।
क्षेत्र नम्बर ३ को मतगणना चामुण्डा माध्यमिक विद्यालय, नारायणटारमा हुनेछ भने क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा हुने तय गरिएको छ। क्षेत्र नम्बर ५ को मतगणना टोखा नगरपालिका–५ स्थित श्री समाज भवनमा हुने निर्वाचन आयोगले जनाएको छ।
त्यसैगरी क्षेत्र नम्बर ६ को मतगणना तार्केश्वर नगरपालिका, धर्मस्थलीमा हुनेछ। क्षेत्र नम्बर ७ को मतगणना जुडो हल, नयाँबजारमा गरिनेछ।
काठमाण्डौ क्षेत्र नम्बर ८ को मतगणना जनउद्धार माध्यमिक विद्यालय, हरिसिद्धीमा हुनेछ भने क्षेत्र नम्बर ९ को चन्द्रागिरि नगरपालिका, बलम्बुमा हुनेछ। क्षेत्र नम्बर १० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवन, कीर्तिपुरमा गरिने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन सम्पन्न भएसँगै सुरक्षा व्यवस्थासहित मतपेटिका सम्बन्धित गणनास्थलमा पुर्याउने काम जारी रहेको छ ।

