काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा श्रम संस्कृति पार्टीले प्रत्यक्षपछि समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ।
प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले समानुपातिकतर्फ पनि सोही पार्टीलाई सबैभन्दा धेरै मत दिएका हुन्।
समानुपातिकतर्फ कूल ६३ हजार २५७ मत खसेकोमा श्रम संस्कृति पार्टीले १८ हजार १३७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ हजार ३८५ मतसहित दोस्रो स्थानमा रह्यो भने नेपाली कांग्रेस १० हजार ७०५ मतसहित तेस्रो स्थानमा सीमित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आठ हजार ८७९ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सात हजार २७४ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले एक हजार २४४ मत प्राप्त गरेको निर्वाचन परिणामले देखाएको छ।
यस परिणामले खोटाङमा श्रम संस्कृति पार्टीको प्रभाव प्रत्यक्षसँगै समानुपातिकतर्फ बलियो देखिएको छ।

