जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा सहभागी हुन छलफलका लागि वालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषय छलफल गर्न उनीहरू बालुवाटार पुगेको बताइएको छ। अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ।
अध्यक्ष ठाकुरनिकट जसपाका एक कार्यकारिणी सदस्यका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार गएका हुन्। उनीहरुले आठ मन्त्रीसहित २ राज्यमन्त्री मागेको स्रोतले बताएको छ ।
सांसद नरहेका सात जनालाई फेरि मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि अहिले सात मन्त्रालय खाली छन्। रक्षा मन्त्रालय पनि प्रधानमन्त्री ओली आफैंले राखेका छन्।
यसैबीच जनता समाजवादी पार्टीभित्र विवाद बढेका बेला संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका छन्।
पार्टीभित्र प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भन्नेमा विवाद छ।
अध्यक्ष महन्थ ठाकुर पक्षको पूर्वराजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानु पर्नेमा छ। पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीले असंवैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नु पर्नेमा छन्।

