काठमाडौं : महोत्तरीमा कुल देउताको विषयमा विवाद हुँदा दाइको कुटपिटबाट भाइको मृत्यु भएको छ । दाइले भाइको घरबाट कुल देउता उखेलेर लगेपछि सुरु भएको विवाद कुटपिटमा परिणत भएको थियो ।
दाइको कुटाइबाट घाइते भएका लोहारपट्टी नगरपालिका ७ भ्रमरपुरा निवासी लक्ष्मण साहको मृत्यु भएको हो । घाइते साहलाई उपचारको लागि काठमाडौं लगिएकोमा उनको जनकपुरमै मृत्यु भइसकेपनि मृतक ज्युँदै रहेको भनि ढाकछोप गरेका थिए।
गत जेठ २६ गते बुधवार बिहान भएको झगडामा घाइते साहलाई तत्काल थप उपचारको लागि जनकपुर र त्यहासमेत उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो ।
यता घटनामा संलग्न मृतकका दाइ रामचन्द्र साह र उनको छोरा मुकेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने परिवारका अन्य सदस्य फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।
शुक्रबार काठमाडौंमै पोष्टमार्टम गरि शव ल्याइए पनि स्थानीयले सदगत हुन दिएका छैनन् ।
उनीहरुले उपचारमा गएका आरोपी पक्षमा मानिसहरुलाई उपस्थित गराउन माग गरेका छन् ।
गाउँमै झगडामा मानिसको मृत्यु भएको र शव समेत दाह संस्कार हुन नसकेपछि गाउँ नै तनावपुर्ण भएको छ ।
यता गाउँमा थप विवाद हुन नदिन प्रहरी परिचालन गरिएको छ । मृतक टेम्पो चालक थिए भने आरोपी शिक्षक हुन् ।
