काठमाडौं : सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि शुक्रबार राति आक्रमण भएको छ । शाहीसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोकबहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि अज्ञात समूहले ११ बजे सुर्खेतको करेखोला नजिकै आक्रमण गरेको हो ।
अज्ञात समूहको आक्रमणबाट घाइते भएको शाही समूहको टोलीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले बताए । ‘आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएछ ’ उनले भने,‘घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।’
शाहीले आफनो ज्यानको नै माया मारी कोभिडबाट लाखौ नागरिक बचाउन लागिरहँदा पनि आफ्नो ज्यान बचाउन नसकिएको सामाजिक संजालमा लेखेका छन् । ‘सतिले सरापेको देश हो भन्थे हो रहेछ ’ अब त यो देशमा नै बस्न मन लागेन । मध्यराती सुर्खेतमा हामीमाथि ज्यान मार्ने हमला भो, म ज्ञानेन्द्र शाही ,राजेश महत, कृष्ण पान्डे ,तिलक बस्नेत , नितु खडका ,लोक बहादुर रोकाय ,शान्त शर्मा ,सीता आचार्य ,महेश बि.सि ,खगेन्द्र बजगाइ को ज्यान बाल बाल बच्यो धन्यवाद भगवान ।’
कोरोना महामारीको बेला शाहीको टोलीले देशका विभिन्न भागमा राहत बाँड्दै आएको थियो ।
