नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले १४ औं महाधिवेशनको प्रक्रिया सुरू गर्न माग गरेका छन्। पदाधिकारी र पूर्वपदाधिकारी बैठक निरन्तर गरे पनि महाधिवेशन प्रक्रिया हालसम्म पनि अगाडि नबढेको कोइराला बताउँछन्।
महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ। साउन १२ मा हुनुपर्ने वडा अधिवेशन कहिले गर्ने अझै टुंगो लगाउन कांग्रेसले सकेको छैन।
क्रियाशील सदस्यतामै विवाद देखिएका छन्। आज दिउँसो २ बजेसम्म क्रियाशील विवाद समाधान गर्न रमेश लेखक नेतृत्वको छानबिन समितिलाई समय दिइएको छ।
‘कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया जारी छ। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो हुन सकेको छैन। यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र पार्टीको सम्पूर्ण साथीहरुमा गहिरो चिन्ता छाएको छ,’ कोइरालाले आज ट्वीट गर्दै भनेका छन्।
संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो? यसको जवाफ कसले दिने?’ उनको प्रश्न छ। संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्ने उनले बताए।

