जनस्वास्थ्य विज्ञहरूले नेपालमा संक्रमणको तेस्रो लहर सुरु भएको बताएका छन्। दैनिक संक्रमणदर बढ्दै गएको र यो थप बढ्ने क्रममा रहेकाले तेस्रो लहर सुरु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘संक्रमण बढ्ने क्रममा देखिनु भनेको तेस्रो लहरको सुरुवात हो’, उनले भने।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार नेपालमा कोरोना संक्रमण तेस्रो लहरको बाटोमा रहेको बताए। ‘तेस्रो लहरउन्मुख तरिकाले संक्रमण भइरहेको छ’, उनले भने। निषेधाज्ञा खुकुलो भएसँगै जनस्तरबाट व्यापक रुपमा जनस्वास्थ्य मापदण्ड उल्लंघन भएकाले संक्रमण पुनः फैलिएको डा. बास्तोलाले बताए।
संंक्रमण रोक्ने एकमात्र उपाय जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै रहेकाले हरेक नागरिकले यसलाई पालना गर्नुपर्ने डा. बास्तोलाको सुझाव छ। ‘अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने र निस्कनुपरेमा मास्कको प्रयोग, भौतिक दूरी कायम गर्नु रोकथामको मुख्य उपाय हो’, उनले भने।
यस्तै, मुलुकमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। त्यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७ जना संक्रमित भएका छन्। १६ हजार २ सय ९८ वटा नमुना परीक्षण गर्दा बुधबार ४ हजार १ सय ७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १२ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन उपत्यकामा ९ सय ४ जना संक्रमित भएका थिए। तीन साताअघिको तुलनामा उपत्यकामा दैनिक संक्रमित संख्या तेब्बरले बढेको देखिन्छ। तीन साताअघि उपत्यकामा दैनिक संक्रमित संख्या ४ सय ६१ थियो। एक सातामा नेपालमा कोरोना संक्रमण औसत ३ हजार १ सय ६० जनामा भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

