काठमाडौं । इजरायल र हमासबीचको युद्धविराम योजना अन्तर्गत सोमबार बन्धक रिहा गर्नुअघि सार्वजनिक गरिएको जीवित बन्धकहरूको नयाँ सूचीमा नेपालका विपिन जोशीको नाम समावेश भएको छ । यस खबरले उनको जीवनको सुरक्षालाई लिएर ठूलो आशा जगाएको छ ।
’वाशिङ्टन पोस्ट’, ‘टाइम्स अफ इजरायल’ र ‘एपी’ जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो सूची सार्वजनिक गर्दै विपिन जीवितै रहेको इजरायली विश्वासलाई पुष्टि गरेका छन् ।
हाल गाजामा रहेका ४८ जना बन्धकहरूमध्ये विपिनको नाम सूचीमा आउनुले उनको सुरक्षित फिर्तीको सम्भावना बढेको छ ।
विपिन सँगै रिहा हुने बन्धकहरू सबै २० देखि ३० वर्ष उमेर समूहका पुरुषहरू छन् । यसअघिका सम्झौतामा महिला, बालबालिका र ५० वर्ष माथिका पुरुषहरूलाई रिहा गरिसकिएको छ ।
इजरायलले कम्तीमा २५ जना बन्धकहरू अक्टोबर ७, २०२३ को आक्रमणमा वा बन्दी अवस्थामा मारिएको पत्ता लगाए पनि विपिनको नाम जीवितको सूचीमा आउनु महत्वपूर्ण हो ।
यो युद्धविराम सुरु भएपछि बाँकी बन्धकहरूलाई ७२ घण्टाभित्र इजरायल फिर्ता गरिने अपेक्षा गरिएको छ । यसको बदलामा इजरायलले करिब २,००० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।
सहमति अनुसार सोमबार स्थानीय समय अनुसार १२ बजेभित्र (नेपाली समय दिउँसो २:४५ सम्म) विपिनसहित ४८ जनालाई रिहा गरिसक्ने उल्लेख छ । यद्यपि हमासले भने तोकिएको समयमा सबै बन्धकहरूलाई हस्तान्तरण गर्न नसकिने भन्दै थप समयको माग गरेको छ ।
हमासले हालसम्म जीवित बन्दीहरूको आधिकारिक नामावली भने दिएको छैन ।

केही दिनअघि विपिन अपहरणमा परेको बेला हमासको कब्जामा रहेको अवस्थाको उनको एउटा पुरानो भिडियो सार्वजनिक भएको थियो ।

