काठमाण्डौ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका राष्ट्रपति आइज्याक हर्जोगलाई एक पत्र लेख्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई माफी दिन आग्रह गर्नुभएको छ। भ्रष्टाचारसम्बन्धी तीन फरक मुद्दामा अदालतको सामना गरिरहेका नेतन्याहूले भने आफू निर्दोष भएको दाबी गर्दै आएका छन्।
राष्ट्रपति हर्जोगको कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति हर्जोगले अमेरिकी राष्ट्रपति ट्रम्पबाट पत्र प्राप्त गर्नुभएको छ, जसमा प्रधानमन्त्री नेतन्याहूलाई माफी दिन विचार गर्न आग्रह गरिएको छ।”
ट्रम्पले पत्रमा नेतन्याहूको भूमिकालाई ऐतिहासिक बताउँदै लेखेका छन्, “हामीले तीन हजार वर्षदेखि खोज्दै आएको शान्ति सुरक्षित गर्न उहाँले असाधारण योगदान दिनुभएको छ। म नेतन्याहूलाई पूर्ण रूपमा माफी दिन अनुरोध गर्दछु, जो युद्धको समयमा एक शक्तिशाली र निर्णायक नेताका रूपमा उभिनुभएको छ।”
पूर्वराष्ट्रपति ट्रम्पले पत्रमा इजरायली न्याय प्रणालीको स्वतन्त्रतालाई सम्मान गर्दै पनि नेतन्याहूविरुद्धका मुद्दा राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका छन्। उनका अनुसार, नेतन्याहू अहिलेको कठिन परिस्थितिमा देशलाई स्थायित्व दिने प्रमुख नेताका रूपमा रहेका छन्।
नेतन्याहू र उनकी पत्नी सारामाथि अर्बपतिहरूबाट सिगार, गहना र स्याम्पेनजस्ता करिब दुई लाख ६० हजार अमेरिकी डलर मूल्यका विलासिताका वस्तुहरू स्वीकार गरेको र सञ्चारमाध्यमसँग अनुकूल कभरेजको सर्तमा कुराकानी गरेको आरोप छ।
राष्ट्रपति हर्जोगको कार्यालयले ट्रम्पप्रति उच्च सम्मान व्यक्त गर्दै भनेको छ, “माफीको प्रक्रिया कानुनी बाटोबाट मात्र अघि बढ्न सक्ने भएकाले, यस सम्बन्धी कुनै निर्णय अहिले भएको छैन।”
नेतन्याहूले सन् २०२२ को अन्त्यमा पुनः सत्ता सम्हालेपछि ल्याएको न्यायिक सुधार प्रस्तावले इजरायलमा ठूला विरोध प्रदर्शन जन्माएको थियो। गाजा युद्ध सुरु भएपछि ती प्रदर्शनहरू रोकिएका थिए।

