काठमाडौं — सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले बुधबार मुख्यमन्त्री यादवलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
मुख्यमन्त्री यादवको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी निर्णयविरुद्ध मधेस प्रदेशका सांसद कृष्णप्रसाद यादवसहित ७४ जनाले दायर गरेको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ हुँदा यस्तो आदेश भएको हो।
अदालतले मुद्धाको प्रकृति र गम्भीरतालाई विचार गर्दै यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन निर्देशन दिएको छ। आदेशमा भनिएको छ, “प्रकृति एवं गाम्भीर्यता समेतलाई विचार गरी दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिँदा अन्तरिम आदेश छलफल प्रयोजनार्थ मिति २०८२/७/३० गतेको पेसी तोकिएको छ।”
साथै, अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी कात्तिक २३ गतेको निर्णय र मन्त्रिपरिषद् गठनका सम्पूर्ण कागजातसहितको फाइल झिकाउन पनि आदेश दिएको छ।

