काठमाडौँ — सरकारले नगद कारोबारको सीमा घटाउँदै अब एकैपटक ५ लाख रुपैयाँ वा त्यसभन्दा बढीको कारोबार बैंकिङ प्रणालीमार्फतै गर्नुपर्ने व्यवस्था गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेवा–वस्तु खरिदबिक्रीदेखि अन्य वित्तीय कारोबारमा ५ लाखभन्दा माथिको रकम नगदमा लिन–दिन नपाइने निर्णय गरेको हो।
यसअघि नगद कारोबारको सीमा १० लाख रुपैयाँ थियो। औपचारिक बैंकिङ प्रणालीलाई प्रोत्साहन गर्ने, हिसाब–किताब पारदर्शी राख्ने र अवैध आर्थिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सरकारले समय समयमा नगद कारोबारको सीमा परिमार्जन गर्दै आएको छ।
सरकारका अनुसार, नगद प्रवाहलाई नियन्त्रणमा ल्याउँदै वित्तीय प्रणालीमार्फत हुने कारोबार बढे आर्थिक सुनिश्चितता, कर–पारदर्शिता र प्रतिवेदन प्रणाली सबल हुने अपेक्षा छ।

