काठमाडौँ। लगातारको हुस्सु र बढ्दो चिसोका कारण तराई–मधेशका विभिन्न जिल्लामा विद्यालय बन्द गर्न थालिएको छ। पर्साको वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरेको छ।
पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले बुधबारसम्म बिदा घोषणा गरेका छन्। बाराको परवानीपुर गाउँपालिकाले पुस ११ गतेसम्म, सिम्रौनगढ नगरपालिकाले भोलिसम्म विद्यालय बन्द गरेको छ। रौतहटका गौर नगरपालिकाले शुक्रबारसम्म सार्वजनिक बिदा दिएको छ भने महोत्तरीको भंगहा र रामगोपालपुर नगरपालिकाले ६ दिनसम्म विद्यालय बन्द गरेको छ ।
स्थानीय प्रशासनले बालबालिका, वृद्धवृद्धा र जनताको स्वास्थ्यमा चिसोको नकारात्मक प्रभाव देखिएपछि यस्तो निर्णय गरेको जनाएको छ।
तराई-मधेसमा पछिल्ला दिनमा निरन्तरको शीतलहर र हुस्सुले जनजीवन प्रभावित भएको छ।

