नेपाल बायु सेवा निगमका करिब १४ सय कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्। उनीहरुले साउनदेखिको तलब नपाएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले स्वीकारेका छन्। निगमका १३ सय ८२ जना कर्मचारीको दरबन्दी रहेको छ।
महाप्रबन्धक पौडेलले मासिक करिब १२ करोड रुपैयाँ तलबमा खर्च हुने गरेको बताए। तर कर्मचारी युनियनहरुको आन्दोलनका कारण बजेट पास नभएकाले तलब खुवाउन नसकिएको व्यवस्थापनले जनाएको छ।
निगमलाई पब्लिक लिमिटेडमा लैजाने तयारी भएपछि असार १८ गतेदेखि निगमका विभिन्न कर्मचारी युनियनहरु महाप्रबन्धक पौडेलको समेत राजीनामा माग गर्दै आन्दोलनमा छन्। उनीहरुले पौडेललाई कार्यालय आउन दिएका छैनन्।
हाम्रो सबै किसिमको तयारी अन्तिम चरणमा पुगेको थियो। तर त्यही समयमा कर्मचारीहरुले आन्दोलन सुरु गर्नु भयो। हामीलाई कार्यालय छिर्न दिनु भएको छैन’, पौडेलले भने। उनले पेश्की बजेटमार्फत काम भइरहेको बताए। प्रस्तावित बजेटको २५ प्रतिशत नबढ्ने गरी पेश्की बजेट पास गर्ने चलन छ।
मैले निगमका जागिर खाएको १५/१६ वर्ष भयो। अहिलेसम्म सुरुमै पूर्ण बजेट पास गरेको थाहा छैन। पेश्की बजेट पास गरेर पछि पूर्ण बजेट ल्याउने हो। विगतमा शीर्ष नराखी पेश्की बजेट पास हुन्थ्यो। तर यसपटक शीर्षक राखेर पेश्की बजेट तयार गरिएको छ जसमा तलब शीर्षक नै समावेश गरिएको छैन। यसको मतलब तलब नदिएपछि आन्दोलन रोकिन्छ भन्ने मानसिकता हो’, डाँगीले भने। उनले तलब नपाएको विषयमा श्रम कार्यालय र मन्त्रालयलाई जानकारी गराइएको बताए।
