दक्षिण कोरियाले नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया पुगेर फर्किएका प्रतिवद्ध कामदार लैजान सुरु गरेको छ।
कात्तिक १० गतेदेखि प्रतिवद्ध कामदार पठाउन सुरु गरिएको हो।
पहिलो चरणमा ४८ जना कामदार कोरियाले तोकेको मापदण्ड पालना गरी पठाइएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।
दोस्रो चरणमा ९६ प्रतिवद्ध कामदार पठाउने तयारी गरिएको विभागका महानिर्देशक दीपक काफ्लेले बताए।
‘धेरै लामो समयदेखिको प्रयासपछि प्रतिवद्ध कामदार पठाउन थालिएको छ। अब क्रमशः नयाँको पनि पालो आउँछ, महानिर्देशक काफ्लेले भने।
प्रतिवद्ध कामदार जाने बाटो खुलेपनि कोरियाबाट रोजगार सम्झौता पत्र (लेबर कन्ट्रयाक्ट) आइसकेका सात हजार नेपाली युवाहरु कहिलेदेखि कोरिया जान पाउने भन्ने टुंगो लाग्न सकेको छैन।
प्रतिवद्ध कामदार पठाइसकेपछि क्रमशः उनीहरुलाई पनि लैजाने कोरियाको योजना रहेको सरकारको भनाई छ। तर नयाँ कहिलेदेखि जान पाउँछन् भनेर यकिन मिति तय भइनसकेको महानिर्देशक काफ्लेले बताए।
