चितवन,कात्तिक २४ गते । सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक यहाँका निजी हात्ती दर्ता प्रक्रियामा गएका छन् । हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया सुरु भएको हो ।
वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस)को नेपाल पक्षराष्ट्र हो । महासन्धिको पक्षराष्ट्र भएका कारण नेपालले विसं २०७३ मा सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी गरेको थियो । उक्त ऐन कार्यान्वयनका लागि विसं २०७६ मा नियमावलीसमेत बनिसकेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले निजी हात्ती दर्ता प्रक्रियाका लागि काम अघि बढेको जानकारी दिनुभयो । सम्बन्धित क्षेत्रका राष्ट्रिय निकुञ्जमार्फत दर्ता प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । निजी हात्ती धनीमार्फत फाराम भराएर सङ्कलन कार्य भइरहेको छ । उहाँका अनुसार नियमावली बनेको एक वर्षभित्रमा दर्ता हुनुपर्नेमा कोभिडका कारण हुन नसकेको हो ।
