काठमाडौँ — निषेधाज्ञाका बेला काठमाडौं उपत्यकामा एउटा वाणिज्य बैंकले दिनमा तीन वटा शाखा मात्र सञ्चालन गर्न पाउने भएका छन् । कर्मचारी र तिनका घरपरिवारमा संक्रमण बढिरहेको भन्दै दैनिक खुला हुने शाखा संख्या घटाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । यस सम्बन्धमा बैंक तथा वित्तीय संस्थाका छाता संगठन र राष्ट्र बैंकबीच छलफल भइसकेको छ ।
स्रोतका अनुसार सोमबार राष्ट्र बैंकले यससम्बन्धी निर्देशन जारी गर्दै छ । यसअनुसार मंगलबारदेखि काठमाडौं उपत्यकामा हरेक वाणिज्य बैंकका ३, विकास बैंकका २ र फाइनान्स कम्पनीका एउटा शाखा मात्र खुला रहनेछन् । हाल बैंकहरूले उपत्यकामा आलोपालोका आधारमा दैनिक २५ प्रतिशत शाखा सञ्चालन गर्दै आएका छन् ।

