आज विश्वभर २५६५औँ बुद्धजयन्ती मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दछन् । उनलाई भगवान विष्णुको नवौं अवतारका रुपमा लिने पनि गरिन्छ ।
यस वर्ष कोभिड–१९ को महामारीका कारण बुद्ध जयन्तीमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । चैत्य, गुम्बा तथा बिहारहरुमा बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक उपासिकाहरुले पूजा तथा शान्ति प्रार्थना गरी बुद्धजयन्ती मनाउँदैछन् ।
बुद्धका ४ आर्यसत्यहरू यस प्रकार छन्:
- दु:ख सत्य: दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध
- दु:खको कारण सत्य: दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध
- दु:खको निवारण सत्य: दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
- दु:खको निवारणको मार्ग सत्य: दु:खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना। आर्य अष्टांगिक मार्गलाई शील, समधि र पज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ।
