काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिन सुनुवाई हुँदैछ । शुक्रबार र आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने वकिलहरूले माग गरेका थिए । आज पुरानै ५ न्यायाधीशको इजलास कायम राखिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आज संवैधानिक इजलासको सूची परिवर्तन गर्न सक्ने कतिपय कानूनविदले अड्कलबाजी गरेका थिए । तर, आज पनि प्रधानन्यायाधीशको अध्यक्षतामा न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको बेन्चले नै मुद्दाको सुनुवाई गर्ने तय भएको छ ।
संवैधानिक इजलास परिवर्तन गर्ने र नगर्ने बारे सोमबार न्यायाधीहरुवीच छलफल भएको थियो । अन्ततः आजको इजलास परिवर्तन भएन । न्यायाधीशद्वय केसी र श्रेष्ठले आफूमाथि उठेका प्रश्नबारे इजलासमै प्रष्ट पार्ने स्रोतले बतायो ।
यसअघि नेकपाको विभाजनसम्बन्धी मुद्दाको फैसलामाथि प्रश्न उठेका कारण न्यायाधीश श्रेष्ठ र केसीले संवैधानिक इजलासमा बस्न नहुने वकिलहरुको माग छ । अर्को पक्षले भने न्यायाधीशहरुमाथि त्यसरी प्रश्न उठाउन नमिल्ने बताउँदै आएको छ ।

