काठमाडौँ — सामाजिक सुरक्षा कोषमा जान वित्तीय क्षेत्रका कर्मचारी अनिच्छुक देखिएका छन् । आफूसँग आबद्ध हुन भन्दै कोषले बैंक तथा वित्तीय संस्थालाई पत्र लेखेर आग्रह गरिरहेका बेला कर्मचारीहरूले भने असहमति जनाएका हुन् ।
वित्तीय क्षेत्रमा आबद्ध संघसंस्थाको छाता संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघले बिहीबार विज्ञप्तिमार्फत आफ्नो निर्णय सार्वजनिक गरेको हो । कोषले मंगलबार बैंक तथा वित्तीय संस्थालाई पत्रमार्फत कोषमा दर्ता हुन आग्रह गरेको छ । हालकै अवस्थामा सामाजिक सुरक्षा कोषमा जाँदा बैंकिङ क्षेत्रका कर्मचारीले खाइपाई आएको सुविधा पनि कटौती हुने भएकाले तत्कालका लागि बाध्य गर्न नहुने संघले बताएको छ ।
‘नेपाल सरकारद्वारा २०७६ साउनदेखि लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले संविधान तथा श्रम ऐन र ट्रेड युनियन ऐनद्वारा प्रदत्त अधिकारबाट सम्बोधन गर्न सक्दैन,’ संघको विज्ञप्तिमा भनिएको छ । यस्तो अवस्थामा बैंक, बिमा तथा वित्तीय संस्था तथा संस्थाका कर्मचारीलाई उनीहरूको खाइपाई आएका सेवासुविधा कटौती हुने गरी जबर्जस्ती सामाजिक सुरक्षा योजनामा सहभागी गराउन कोषले अनुचित दबाब दिएको भन्दै संघको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । कोभिड–१९ ले सबै क्षेत्र प्रभावित भइरहेका बेला आफूहरूको सुझावलाई बेवास्ता गरी कोष एकलौटी ढंगबाट अघि बढे आन्दोलनका कार्यक्रम गर्न आफूहरू बाध्य हुने संघको चेतावनी छ ।
‘तीन दशकभन्दा लामो समय संघर्ष गर्दै सामूहिक सौदाबाजीबाट पाएका र स्थापित गरेका सेवा सुविधालाई तिलाञ्जली दिएर सामाजिक सुरक्षा योजनामा सहभागी हुन वित्तीय संस्थाका कर्मचारीलाई बाध्य पार्न खोज्ने सामाजिक सुरक्षा कोषको यो कार्य अत्यन्त निन्दनीय र खेदपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ ।

