काठमाडौँ / निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो ।
नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुखबीच भएको छलफलपछि उक्त निर्णय कार्यान्वयनमा आएको जनाइएको छ । यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै लागू हुनेछ । गत वर्षको बजेटमा पनि दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।
दुई सरकारी कम्पनीले हाल चामल, दाल, चिनी, नुन, गेडागुडी, तेल र एसटीसी ग्यासलगायतका सामान बेच्दै आएका छन् । खाद्य कम्पनीले छ प्रकारका चामल र कर्णालीको सिमीमा सरकारले तोकेको २० प्रतिशत छुट दिनेछ । साल्ट ट्रेडिङले पाँच जनासम्मको परिवारका लागि ग्यास (एसटीसी) एउटा, चिनी दुई केजी र नुन दुई केजी, भटमास तेल एक लिटर, दुई केजीको पिठोमा छुट दिनेछ ।
यो सुविधा साल्ट ट्रेडिङका बिक्री केन्द्रहरू कालीमाटी, सतुङ्गल, जडीबुटी, जावलाखेल र भक्तपुरबाट मात्रै पाइने छ ।
साल्ट टे«ेडिङले यीबाहेक पनि चामल, दाल, तेल घिउ, गेडागुडी, पिठो, मरमसलालगायत भान्सामा प्रयोग हुने सबै वस्तु बजारबाट लिएर बिक्री गर्दै आएको छ ।
साल्ट टे«ेडिङले पछिल्लो पटक सबै खाद्यान्न पसल बन्द हुँदा तीनवटा मोबाइल भ्यानमार्फत उपत्यकाका विभिन्न ठाउँमा पुगेर खाद्यान्न बिक्री गर्दै आएको छ । साथै शुक्रबारदेखि दिने छुट सेवा मोबाइल भ्यानमार्फत भने नपाइने जनाइएको छ।

