काठमाडौं– सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ । चिनियाँ कम्पनी सिनोफर्मसँग भएको सहमतिअनुसार मूल्य भने सार्वजनिक गरिएको छैन ।
स्वास्थ्य सेवा विभागसँग यसअघि नै सिनोफर्मले मूल्यलगायतका विषयमा ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ प्रस्ताव गरेको थियो । तर, विभाग आफैंले निर्णय गर्न नसकेपछि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको सीसीएमसी बैठकमा खोप खरिद प्रक्रियाबारे जानकारी दिएका थिए ।
उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले खोप खरिद प्रक्रिया सुरु गरेको पुष्टि गरेका छन् । उनले ४० लाख चिनियाँसँगै अमेरिकाको जोनसन एन्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको जानकारी दिए ।

