काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बस्ने तयारी गरिरहेका छन्।
ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार आज अपरान्ह ३/४ बजेतिर काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक छ।
उक्त बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने उनले बताए।
‘निषेधाज्ञा थप खुकुलो बनाउँदै लैजाने भन्ने छ।
अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्।
अब निश्चित समय दिएर कपडा पसललगायत पनि खुल्न दिनेबारे छलफल भइरहेको छ।
कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ।
यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो।
जोर/बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन।
